Header Ads

अफसोर दुरदराजबाट सेवा

 एकराज बास्तोला
पछिल्ला वर्ष नेपालमा सूचना प्रविधिको क्षेत्रले ठुलो फड्को मारेको छ । प्रविधिको विकासकै कारण नेपालबाट सूचना प्रविधिको क्षेत्रमा अन्तरराष्ट्रिय स्तरका धेरै काम भइरहेका छन् । नेपालस्थित अफसोर कम्पनीहरुले अमेरिका, फ्रान्स, वेलायत, स्वीडेन, डेनमार्क, नेदरल्याण्डलगायत मुलुकका लागि आवश्यक सफ्टवेर देखि अन्य प्रोग्रामिङका काम यहीँबाट गर्न थालेका छन् । निरन्तर बढिरहेको अफसोर कम्पनिको पहँुचले नेपालमा रोजगारीको क्षेत्रसमेत फराकिलो बनाउँदै लगेको छ ।
अफसोर प्रविधिका बारेमा अधिकांस नेपालीलाई जानकारी छैन । यद्यपि पछिल्लो समय यसमा युवा वर्गको आकर्षण बढेको छ । युवा अकर्षणकै कारण नेपालमा अफसोर  व्यवसायमा उल्लेख्य प्रगति भइरहेको वेभ सर्च प्रालिकी प्रमुख कार्यकारी अधिकृत बीणा श्रेष्ठले बताइन् । नेपालमा सन् २००० देखि संस्थागत रुपमा अफसोरको काम हुँदै आएको छ । सर्भिङ माइण्ड्स कम्पनीले आईटी बीपीओ सेवा शुरु गरेपछि नै नेपालमा अफसोरको व्यावसायिक शरुआत भएको हो । त्यसअघि पनि अफसोरका काम नभएका होइनन् । तर, सन् २००५ देखि अफसोर सम्बन्धी काम गर्ने थुप्रै कम्पनीहरू खुल्न थालेका हुन । हाल नेपालमा आईंटी अफसोर, लिङ्क ट्रि, एसपीआईं नेपाल, डियरवाल्क, रेडियण्ट, भेरिस इन्फरमेशन टेक्नोलोजी लगायत सानाठूला गरी ५ सय कम्पनीले विभिन्न माध्यमबाट अफसोरको काम गरिरहेका छन् ।
विश्व बजारमा चार किसिमले अफसोरको काम हुने गरेको छ । त्यसमा, आईंटीओ (इन्फरमेशन टेक्नोलोजी आउटसोर्सिङ), बीपीओ (विजनेश प्रोसेश आउटसोर्सिङ), सफ्टवेयर अनुसन्धान तथा विकास र केपिओ (नलेज प्रोसेस आउटसोर्सिङ) रहेका छन् । अन्य देशको तुलनामा नेपालमा कम लागतमा वेभसाइट निर्माण, आउटसोर्सिङ तथा ग्राफिक्ससम्बन्धी काम भइरहेका छन् । सस्तो श्रमका कारण नेपालमा सफ्टवेयर निर्माण गर्दा ३० देखि ४० प्रतिशतसम्म लागत कम पर्ने श्रेष्ठको भनाइ छ । यसैले पनि  नेपालजस्ता देशमा अफशोर व्यवसाय फष्टाइरहेको हो । यस्ता सफ्टवेयर निर्माण गर्न सूचनाप्रविधि अध्ययन गरेका दक्ष व्यक्तिको आवश्यकता पर्छ ।
नेपालका अधिकांस कम्पनीले ग्राहकको मागअनुसारका सफ्टवेयर निर्माण गरिरहेका छन् । सामान्यतः एउटा सफ्टवेयर बनाउन ६ महिनादेखि ५ वर्षसम्मको समय लाग्छ । यद्यपी, सफ्टवेयरमा उपलब्ध सेवासुविधा हेरी कम समय पनि लाग्न सक्छ । अहिले विदेशीहरुको लागि रेडियो तथा टेलिभिजनको सहायताले भाषा सिकाउने, एयरलाइन्स कम्पनी र अस्पतालका लागि आबश्यक सफ्टवेयर निर्माण हुनेगर्छ । त्यस्तै, इमेज सम्पादन, ब्रोसर, ईं–पोष्टर, पत्रीकाको लेआउट सफ्टवेयरको निर्माण पनि भइरहेको छ । कम्पनीहरुले ‘फ्ल्यास प्रोग्राम’को सहायताबाट विद्यार्थीले स्कुलको गृहकार्य, विद्यार्थीको क्षमता मुल्याङ्कन तथा अध्ययन गर्न सक्ने सफ्टवेयर नेपालमै उत्पादन गर्न थालेको आईंटी अफसोर नेपाल प्रालिका प्रबन्ध निर्देशक उपेन्द्र श्रेष्ठले बताए । यी सफ्टवेयरहरु  बेल्जियम र नेदरल्याण्डका २ हजार भन्दा बढी विद्यालयका ३ लाख विद्यार्थीले प्रयोग गरिरहेका छन् । यो सफ्टवेयरलाई विन्गेल आइल्याण्डको नाम दिइएको छ । यसको दोस्रो संकरण २०१२ मा शुरु हुने उनले जानकारी दिए । यो सफ्टवेयर २०१० देखि प्रयोगमा आएको हो ।
हाल नेपालमा विदेशी टेलिभिजनका लागि आबश्यक पर्ने थ्रीडि एनिमेशन, मुभी एनिमेशन, कन्ष्ट्रक्सन, प्रडक्ट एनिमेशन, ग्राफिक्स डिजाइनका काम समेत भइरहेको व्यवसायीहरू बताउँछन् । नेपालमा अधिकांस कम्पनीले पिएचपी, डटनेट प्रोग्रामको सहायताबाट सफ्टवेयर निर्माण गर्दै आएका छन् । सन् २००६ देखि सञ्चालनमा आएको ग्राफी अफसोर नेपालले यूरोपिय ग्राहक (विषेश गरी बेल्जीयम र नेदरल्याण्ड)का लागि सफ्टवेयर निर्माण गर्छ । कम्पनीले निर्माण गरेको ‘रेन्जर पिटर’ नामक थ्री डी एनिमेशन भएको टिभी सिरियल चाडैँ नै नेदरल्याण्ड र बेल्जीयमका टीभी च्यानलहरुमा प्रशारण हुन लागेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठ ग्राफी अफसोर नेपालकासमेत प्रवन्ध निर्देशक हुन् । कम्पनीले विभिन्न टिभी च्यानलहरुका लागि प्रोमोसमेत निर्माण गर्दै आएको छ ।
पछिल्लो समय नेपालमा ईं–कमर्शबाट धेरै काम गर्न सकिने भएको छ । तर, सूचनाप्रविधि दुरसञ्चार सेवा प्रदायक, बैङ्क तथा वित्तीय संस्थाको वेभसाइट निर्माणमा सिमित बन्न पुगेको छ । सफ्टवेयर निर्माण निश्चित क्षेत्रमा केन्द्रित भएका कारणले पनि अधिकांस अफसोर कम्पनीहरू विदेशी ग्राहकसँग केन्द्रित भएका हुन् । त्यसैले अफसोर कम्पनीहरुका बीचमा अस्वस्थ प्रतिस्पर्धा नरहेको श्रेष्ठ बताउँछिन् । अहिले अफसोरको काम गर्ने कम्पनीहरू खुल्नेक्रम निरन्तर बढिरहेको उपेन्द्र श्रेष्ठले बताए । व्यवसायमा बुझेर भन्दा देखेर आउनेक्रम बढेको उनको भनाइ छ ।
दक्ष कामदार
अफशोर व्यवसायको आकार निरन्तर बढिरहेपनि दक्ष कामदारको अभाव कम हुन सकेको छैन । अहिले डाटावेस, प्रोग्रामिङ तथा सफ्टवेयर कोडिङ गर्ने दक्ष जनशक्ती कम रहेको छ । सूचनाप्रविधी सम्वन्धि धेरै कलेजहरू सञ्चालन भएपनि अफसोर व्यवसायलाई आवश्यक पर्ने कामदार पर्याप्त उत्पादन हुन नसकेको उपेन्द्र श्रेष्ठ बताउँछन् । सूचनाप्रविधि अध्ययन गरेका अधिकांस विद्यार्थीहरू विदेश पलायन हुनु अर्को समस्या बनेको छ । त्यसकारण, अफसोर कम्पनीले जनशक्ती लिनुपूर्व ६ महिनासम्मको टे«निङ उपलब्ध गराउने गरेका हुन् । ललितपुरको ठैबमा रहेको लिङ्क ट्रि अफसोर कम्पनीले प्राविधिक तालीम सञ्चालन गरिरहेको भाइस–प्रेसिडेण्ट महेशबहादुर मल्लले जानकारी दिए । हाल एउटा अफसोर कम्पनीमा  ५ जनादेखि २ सय जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् । 
धेरै सम्भावना
नेपालमा अफशोर सम्बन्धी धेरै काम गर्न सकिन्छ । अफसोरका लागि नेपाल उर्वर भूमी हो । अमेरिकामा मात्र अफसोरको काम गर्ने लिङ्क ट्रिले समेत ४० प्रतिशत मात्र काम गरेको मल्ल बताउँछन् । अफसोरलाई यूरोप, अमेरिका र एशियाली मुलकमा विस्तार गर्न सकेको खण्डमा ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिने श्रेष्ठले बताइन् । यद्यपी, दक्ष कामदार अभाव, चर्को लोडसेडिङ र स्पष्ट नीतिगत व्यवस्था नहुँदा विकासमा कमी आएको हो ।  
के हो अफशोर ?
कुनै एक देशमा रहेको कम्पनीले विभिन्न देशमा रहेका कम्पनीको काम गर्ने प्रक्रियालाई अफसोर भनिन्छ । विशेषगरी सफ्टवेयर, मोवाइल, आइप्याड एप्लिकेशन, वेभसाइट, डाटावेस, गाफिक्स तथा सूचनाप्रविधि सम्बन्धी काम अफसोर अन्तर्गत पर्छ । यस्तो काम विकसित देशले विकासोन्मुख देशमा रहेका कम्पनीमार्फत गराउँने गर्छन । विकसित देशमा जनशक्ती महँगो हुन्छ । विकासोन्मुख देशमा कम लागतमा बढी काम गर्न सकिन्छ । त्यसकारण, विकसित देशका कम्पनीले इण्टरनेट तथा स्थानिय कम्पनीमार्फत विकासोन्मुख देशका कम्पनीलाई काम गर्न लगाउने गरेका छन् । कतिपय कम्पनीले विकासोन्मुख देशमा शाखा विस्तार गरी आबश्यक सबै काम सोही शाखामार्फत पनि गराउँदै आएका छन् ।

No comments

Powered by Blogger.